८ आश्विन २०८०

  • Trending

    यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

    यूएईलाई हराउँदै नेपालले जोगायो एक दिवसीय मान्यता

    आइतवार यूएईलाई पराजित गरेसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ।

    स्पिनर ललितनारायण राजवंशीको पाँच विकेट तथा कप्तान रोहित पौडेलको धैर्यपूर्ण अर्धशतकको मद्दतमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो।

    नेपाली टोलीमा पहिलो पटक सहभागी भएका ललित राजवंशी र गुलशन झा दुवैले नेपालको जितका लागि उल्लेख्य योगदान गरे। राजवंशीले पाँच विकेट लिए भने झाले एक विकेट लिए।

    आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक श्रृङ्खला अन्तर्गत आइतवार टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन जोडेको थियो।

    जवाफमा यूएई २२.५ओभरमा ७१ रन बनाएर अलआउट हुन पुग्यो।

    जितसँगै नेपाल विश्वकप लिग २ तालिकाको चौथो स्थानमा उक्लिएको छ।

    तालिकामा नेपालको ३४ खेलबाट ३६ अङ्क छ।

    अब खेल्न बाँकी दुई खेलमा पराजित भए पनि नेपाल कम्तीमा पाँचौँ स्थानमा रहनेछ।

    लिग २ मा उत्कृष्ट पाँच भित्र रहने टोलीको ओडीआई मान्यता सुरक्षित रहनेछ।

    ओडीआई जोगाउने यो अभियानमा नेपालले पछिल्लो समय सानदार खेल प्रदर्शन गर्दै १० खेलमा नौ मा जित हात पारेको थियो।

    यो हारसँगै यूएईको शीर्ष पाँचमा रहने सम्भावना लगभग समाप्त भएको छ।

    स्पिनरको जादु

    दुई सय ४९ रनको लक्ष्य पूरा गर्न आएको यूएईविरुद्ध नेपालले पहिलो ओभरदेखि स्पिनरको प्रयोग गरेको थियो, जुन रणनीति पूर्ण रूपमा सफल देखियो।

    समग्रमा नेपाली बलर विपक्षीमाथि पूर्णरूपमा हाबी भएको थियो।

    टोलीले ६ ओभरभित्र ८ रन दिई विपक्षीका ४ महत्वपूर्ण विकेट लिइसकेको थियो। जसले खेल नेपालको नियन्त्रणमा रहन गयो।

    सुरुदेखि नै दबाबमा फसेको विपक्षी टोलीले त्यसपछि इनिङ्सलाई अगाडि बढाउन निकै मुस्किल परेको थियो।

    स्पिनर ललितनारायण राजवंशीले पहिलो ओभरको पाँचौ बलमा यूएईका ओपनर भ्रित्या अरविन्दलाई क्लिन बोल्ड गरेका थिए।

    लगत्तै तेस्रो ओभरमा अर्का स्पिनर दीपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई पनि शून्य रनमा बोल्ड गरे।

    क्रिकेट

    फेरि राजवंशीले पाँचौ ओभरमा एक रन बनाएर खेलिरहेका मोहम्मद वसिमलाई कुशल भुर्तेलबाट क्याच आउट गराए।

    ओपनर आसिफ खानलाई सोमपाल कामीले आउट गरेपछि यूएईको स्थिति दयनीय अवस्थामा पुगेको थियो।

    यस्तोमा टिमलाई सम्हाल्ने प्रयास अनुभवी रोहन मुस्तफाले गरेका थिए।

    तर २९ बलको सामना गरेर खेलिरहेका बेला सन्दीप लामिछानेले उनलाई एलबीडब्लूको सिकार बनाए।

    मैदानमा आयान अफ्जल खान (२९ रन) टिकेर खेलिरहेका थिए।

    १६.१ ओभरमा उनी राजवंशीको बलमा भुर्तेलद्धारा समातिए।

    अर्को ओभरमा लामिछानेले जवार फरिद (२ रन) लाई बोल्ड गरे।

    यति बेला यूएईको स्कोर ५१ रन थियो र टोलीका सात खेलाडी आउट भइसकेका थिए।

    यूएई अब एकदिवसीयको आफ्नो सबैभन्दा न्यून स्कोरमा खुम्चिने स्थितिमा पुगिसकेको थियो।

    टोलीका कुनै पनि खेलाडीले जिम्मेवार इनिङ्स खेल्न सकेको देखिएन। एकपछि अर्को गर्दै नियमित रूपमा यूएईको विकेट झर्ने क्रम जारी रह्यो।

    पौडेलको अर्धशतक

    रोहित पौडेल

    नेपालका तीन खेलाडीहरू धमाधम आउट भएपछि कप्तान पौडेलको निर्णय गलत हुन पुगेको जस्तो देखिएको थियो।

    टोलीले आठ ओभर भित्र २२ रन बनाएको अवस्थामा तीन खेलाडी गुमाइसकेको थियो।

    यस्तो अवस्थामा टिम सम्हाल्न आएका पौडेलले मजबुत प्रदर्शन गर्दै टोलीलाई उकासे।

    उनले ११२ बल खेल्दै नौ चौकाको मद्दतमा कुल ७७ रन जोडे।

    यो उनको एक दिवसीयमा आठौँ अर्धशतक हो, जुन नेपालको सर्वाधिक अर्धशतक बन्यो।

    ज्ञानेन्द्र मल्ल र आसिफ शेखको नाममा ७/७ अर्धशतक छ।

    पौडेलले सुरुमा भीम सार्कीसँग मिलेर इनिङ्स उकास्ने काम गरे।

    यी दुईले चौथो विकेट जोगाउँदै ५४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

    सार्कीले व्यक्तिगत २९ रन जोडे। रोहन मुस्तफालाई २१औँ ओभरको चौथो र पाँचौँ बलमा लगातार दुई चौका हानेका उनी तेस्रो चौका हान्ने चक्करमा क्याच आउट हुन पुगेका थिए।

    सार्की गएपछि पौडेलले आरिफ शेफसँग मिलेर छिटोछिटो स्कोर जोडेका हुन्।

    उनीहरूले पाँचौँ विकेटका लागि ८६ रनको मजबुत साझेदारी गरेका थिए।

    छक्का हान्ने क्रममा पौडेल लङ अफमा क्याच आउट हुन पुगेका थिए।

    यति बेला स्कोरबोर्डमा १६२ रन जोडिएको थियो।

    कमजोर सुरुआत, उत्कृष्ट फिनिसिङ

    क्रिकेट समर्थक

    कीर्तिपुरको बिहानीको मौसममा ओपनर आशिफ शेख खेलको दोस्रो ओभरमा खाता नखोली आउट भएपछि टोलीलाई झट्का लागेको थियो।

    हिरगर मिडिया

    जि.प.का.दर्ता नं. : २०२०

    पान नं :००००००१

    हिरगर टिम

    अध्यक्ष तथा संचालक

    हिरा लाल चौधरी
    मोबाइल न. :९८५८४२६६३३

    सचिव

    सागर कुश्मी
    मोबाइल न. :९८४८४७००६०

    © 2023 Copyright: Hirgar Media