२०८२ साल, धनगढी
भाग १ : मोबाइल र मस्तिष्कको भिडन्त
धनगढीको बजार आज पनि उस्तै थियो—चर्को घाम, चिसो मन, अनि मोबाइल स्क्रिनमा झुन्डिएका सयौं अनुहारहरू। हिम्मत चौधरी, २५ वर्षे युवा, नेपालगञ्जमा तीन वर्ष बीएसडब्लु पढेपछि फर्केर अहिले घरमै बसिरहेको छ। “के गर्ने त अब?” भन्ने प्रश्नले ऊ दिनमा कम्तीमा पनि पचास पटक छाती छोइहाल्छ।
हिम्मतकाे बा २०६० सालतिरकाे जनयुद्धपछि गाउँ फर्केर हलो समात्न पुगेका थिए, राजनीतिमा लाग्ने सपना तुहिए पनि समाज बदल्ने अभिलाषा बाँकी नै थियो। आमा गाउँकै स्वास्थ्य चौकीमा अंशकालीन स्वास्थ्यकर्मी थिइन्। हिम्मतको लागि जिन्दगी स्पष्ट न थियो, न त अन्धकारमुक्त—यो बिचको बाटोजस्तै थियो, जहाँ उभिएको मान्छे न अघि जान सक्थ्यो, न फर्कन।
“तँ फेरी टिकटकमै छस्?” आमाले भान्साबाट कराउँदै भनिन्।
हिम्मतले मोबाईलको स्क्रिन बन्द गर्यो। त्यो स्क्रिनमा केही मिनेटअघि सम्म एउटा छोरा १० लाखको बाइकमा स्टन्ट गर्दै थियो। “जीवन त यस्तै हो, आमा,” उसले सोचे, तर स्वरमा केही बोलेन।
एक दिन TikTok मा Live गर्दै गर्दा, कोही एकजना सामाजिक अभियन्ता महिलाले लेखेकी थिइन्, “तिमी जस्ता युवाहरूको सोच बदलियो भने देश बदलिन्छ।”
हिम्मत हाँस्यो।
देश बदल्न? पहिले म आफू बदल्न सकूँ त!
भाग २ : परिवर्तनको अन्धकार
हिम्मतको साथीहरू एकपछि अर्को प्रवास लागेका थिए। जसमध्ये दिनेश मलेसिया गएको थियो, सन्देश कतार, रवि त ताइवान। “दाइ, अब तपाईं पनि आउनुहोस् न! यहाँ केही हुन्न!” दिनेशले म्यासेन्जरमा लेखेको थियो।
हिम्मतको आत्मा दोधारमा थियो। एकातिर देश, परिवार र आफ्नै खेत–पाखा, अर्कोतिर थोरै पैसा र ‘कुशल श्रमिक’ बनेर फर्किने सपना। ऊ जागिर खोज्दै धनगढीका अफिसहरू चहार्थ्यो, तर सर्टिफिकेटभन्दा बढी ‘लिन्क’ मागिने थलो थियो त्यो।
एकदिन ऊ कैलालीको एउटा युथ क्याफेमा गयो। त्यहाँ एकजना युवतीले बोल्दै थिइन्—
“हामीले आज देशमा परिवर्तन देख्न चाहेका हौं, तर आफैंबाट सुरु गर्न सक्दैनौं भने त्यो परिवर्तन केवल नारामै सीमित हुन्छ।”
हिम्मत त्यो दिनदेखि मौन बस्न सकेन। ऊ घर फर्केर सोध्यो—”बाबा, म गाउँमै केहि गर्न पाए हुन्थ्यो जस्तो लाग्न थालिसक्यो। हाम्रो खेत खण्ड्यौं किन? तरकारी लगाउँन पाए हुन्थ्यो नि?”
बाबाले हेरिरहे—”तँ सहरतिर जानी मान्छे, अब माटोमा फर्कन्छस्?”
“सक्दिन, तर त्यही माटोले त मलाई सम्झाएको छ म को हुँ भनेर।”
भाग ३ : कसैले सुरु गर्नै पर्छ
हिम्मत अब मोबाइल स्क्रिनमा भन्दा धेरै समय खाली खेत हेर्दै बिताउँथ्यो। ऊ सोच्थ्यो—”यत्रो माटो, यत्रो घाम, यत्रो पसिना, अनि यत्रो बेरोजगारी! यो सटिक मेल छ?”
ऊ धनगढी नगरपालिका अन्तर्गतका वडामा घुम्न थाल्यो। कहाँ के पाइन्छ, कसले के गर्छ, युवाहरू के चाहन्छन्—सबै कुरा नोटबुकमा टिप्न थाल्यो। क्याम्पस पढ्दाको समाजशास्त्र अब कागजबाट निस्केर खेतबारीमा, गल्लीमा, अनि पसलका गफहरूमा झरेको थियो।
एकदिन उसले पुरानै विद्यालयमा युवाहरूको एउटा गोष्ठी राख्यो।
“हामी प्रवास जानु हाम्रो दोष होइन,” ऊ बोल्यो, “तर फर्केर पनि केही नगर्नु हाम्रो जिम्मेवारीको परित्याग हो।”
कसैले टाउको हल्लाए, कसैले हाँसे—”यहाँ केही हुन्न दाइ!”
हिम्मत हाँस्यो।
“हुन्छ, यदि तिमीहरू साथ दिँछौ भने।”
त्यही दिन एउटा बीउ रोपियो—”थरूहट युथ इनिसिएटिभ”।
भाग ४ : स्मार्ट तरकारी र डिजिटल आन्दोलन
हिम्मतले केही बेरोजगार साथीहरूलाई समेटेर डिजिटल तालिम सुरु गर्यो। कसरी फोनबाटै मार्केटिङ गर्ने, कसरी अनलाइनमा उत्पादन बेच्ने, अनि कसरी सरकारी योजना बुझेर फाराम भर्ने—यी सबै सिकाउन थाल्यो।
एकजना साथीले झरीमा लगाइएको माटो परीक्षण प्रयोगशाला मोबाइल एप बनायो। अर्कोले ‘थरू–फार्म्स’ नामको ब्रान्ड सुरु गर्यो। अब गाउँले तरकारी धनगढीमै बेचिन थाल्यो—कागजको पर्खाल तोड्दै, QR code बाट पैसा आइपुग्न थाल्यो।
धेरै मान्छेले हिम्मतलाई पागल भने, केहीले नेताको सपना देख्न थाल्यो।
तर हिम्मतले भने एउटै कुरा दोहोर्याउँथ्यो—
“क्रान्ति पोस्टरबाट सुरु हुँदैन, हलो समात्ने हातबाट सुरु हुन्छ।”
भाग ५ : घामभन्दा उज्यालो सपना
२०८५ सालमा हिम्मत र उसकाे टिमले धनगढीमा “कैलाली ग्रामीण नवप्रवर्तन मेला” आयोजना गरे। प्रवासीहरू फर्किए, सहरका ठूला कलेजका युवाहरूले आत्मनिर्भर परियोजनाहरू पेस गरे।
त्यो मेला नेपाल टेलिभिजनमा प्रशारण भयो।
एकजना वरिष्ठ पत्रकारले सोधे, “तपाईंको सपना के हो?”
हिम्मतको उत्तर थियो—
“जहाँ कुनै युवाले यो देश छोड्दा आफैलाई दोषी ठानून।
जहाँ कुनै आमाले भोलि छोरो फर्किन्छ भनेर तरकारी राखून।
र जहाँ माटोले हाम्रा हात समातेर भन्छ—अब तिमीहरू फर्कियौ।”
भाग ६ : शब्दहरू बाँचेका छन्
२०८७ सालको चैत महिनाको अन्तिम सातामा काठमाडौंमा आयोजना गरिएको “युवा नवनिर्माण सम्मेलन” मा हिम्मत बोल्न आमन्त्रित भएको थियो। उसको भाषणअघि स्टेजमा उसको परिचय दिइँदै थियो—
“हिम्मत चौधरी — एक खेतको छोरो, डिजिटल युगको क्रान्तिकारी।”
उपस्थित हजारौं युवाहरू उसकाे नामसँग पहिल्यै परिचित भइसकेका थिए। उसको QR सिस्टम, थरू–फार्म ब्रान्ड, युवा तालिम केन्द्र, अनि खेतबारीबाटै गरिएको देश सुधारको आन्दोलनले त्यसबेला “NeoKranti” (नयाँ क्रान्ति) को संज्ञा पाइसकेको थियो।
हिम्मत स्टेजमा उक्लियो।
ऊ माइक समात्छ। केही क्षण मौन रहन्छ।
“म शब्दहरूमा विश्वास गर्दिन,” उसले भन्न थाल्यो, “तर शब्दहरू बाँचेका छन्।
म माटोको गन्धमा विश्वास गर्छु, र त्यो गन्ध अहिले देशका हरेक गाउँमा फैलिँदैछ।”
युवाहरू तालियाँ बजाउँदै उभिन्छन्।
“अब समय आयो, जब क्रान्ति बन्दुकले होइन, बिउ रोपेर गरिन्छ।
जब टेक्नोलोजी सस्तो भिडियाे बनाउने होइन, गाउँ समृद्ध बनाउने हतियार बन्छ।
र जब हामी आफूलाई मात्र होइन, अर्को पुस्तालाई पनि उत्तर दिन सक्ने बनिन्छौं।”
उसले हेर्यो—स्टेज मुनि आफ्नै गाउँबाट आएका बालबालिका थिए, जसले अब अंग्रेजीमा ‘Agri-tech’ भन्न सक्थे।
उसको बाबा–आमा पहिलोपटक काठमाडौं आएका थिए, पछाडि शान्त मुद्रामा बसेका।
उसका साथीहरू—जुनसुकै ठाउँबाट भए पनि—अब एकै रेखामा उभिन सक्थे।
त्यस रात ऊ पारिजात फूल फुलेको टेरेसमा बसिरहेको थियो।
उताबाट लहरे सुत्न थालेका फूलहरू हेर्दै उसले डायरीमा लेख्यो—
“म युद्धको सन्तान हुँ, तर निर्माणको नेतृत्वकर्ता बन्ने प्रण गर्दछु।
मैले देखेको सपना फूल होइन, त्यो फूलको गन्ध हो, जुन बाँचिरहन्छ।
किनभने शब्दहरू लेखिए मात्र होइन, बाँचेका छन्।”
लेखक
हिरालाल सत्गाैँवा
घाेडाघाेडी ५ सररहिया कैलाली
हाल सम्म ६ पुस्तक प्रकाशन भैसकेकाे
जि.प.का.दर्ता नं. : २०२०
पान नं :००००००१
अध्यक्ष तथा संचालक
हिरा लाल चौधरी
मोबाइल न. :९८५८४२६६३३
सचिव
सागर कुश्मी
मोबाइल न. :९८४८४७००६०